मेरो पालनकर्ता अल्लाह हुनुहुन्छ
अल्लाहले भन्नुभएको छ: {हे मानिसहरू! आफ्नो पालनकर्ताको उपासना गर, जसले तिमीहरूलाई र तिमीहरूभन्दा अघिकाहरूलाई सृष्टि गर्नुभयो, ताकि तिमीहरू धर्मपरायण बन्न सक।} [सूरह अल्-बकरह: २१] अल्लाहले भन्नुभएको छ: {उहाँ अल्लाह हुनुहुन्छ, उहाँबाहेक कुनै सत्य उपास्य छैन।} [सूरह अल्-हश्र: २२] अल्लाहले भन्नुभएको छ: {उहाँजस्तो कुनै पनि वस्तु छैन र उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।} [सूरह अश्-शूरा: ११] अल्लाह मेरा पालनकर्ता, सबै कुराका पालनकर्ता, मालिक, सृष्टिकर्ता, जीविका प्रदान कर्ता र सम्पूर्ण सृष्टिको व्यवस्थापन कर्ता हुनुहुन्छ। उहाँ मात्र उपासना योग्य हुनुहुन्छ। उहाँबाहेक कुनै पालनकर्ता र कुनै सत्य उपास्य छैन। उहाँका लागि सबैभन्दा उत्कृष्ट नामहरू र सर्वोच्च गुणहरू छन्, जसलाई उहाँले आफ्ना लागि स्थापित गर्नुभएको छ र उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पनि पुष्टि गर्नुभएको छ। ती नाम र गुणहरू पूर्णता र उत्कृष्टताको सर्वोच्च स्तरमा छन्। उहाँ जस्तो कोही छैन र उहाँ सर्वश्रोता तथा सर्वद्रष्टा हुनुहुन्छ।
उहाँका केही उत्कृष्ट नामहरू यस प्रकार छन्:
- अर्-रज्जाक (सबैलाई जीविका प्रदान गर्ने)।
- अर्-रहमान (अत्यन्त कृपालु)।
- अल्-कदीर (सर्वशक्तिमान)।
- अल्-मलिक (सम्पूर्ण सृष्टिका मालिक)।
- अस्-समीअ (सर्वश्रोता)।
- अस्-सलाम (सबै दोष र त्रुटिबाट पूर्णतः पवित्र)।
- अल्-बसीर (सर्वद्रष्टा)।
- अल्-वकील (संरक्षक)।
- अल्-खालिक (सृष्टिकर्ता)।
- अल्-लतीफ (अत्यन्त सूक्ष्मदर्शी)।
- अल्-काफी (एक्लै पर्याप्त हुने)।
- अल्-गफूर (अत्यन्त क्षमाशील)।
मुस्लिमले अल्लाहको अद्भुत सृष्टि र उहाँको उत्कृष्ट व्यवस्थापनबारे चिन्तन गर्नुपर्छ। यसको एउटा उदाहरण सृष्टिका प्राणीहरूले आफ्ना बच्चाहरूलाई खुवाउने, हेरचाह गर्ने र उनीहरू आफैँ बाँच्न सक्ने अवस्थामा नपुगेसम्म संरक्षण गर्ने स्वाभाविक व्यवस्था हो। त्यसैले उहाँ अत्यन्त पवित्र हुनुहुन्छ। उहाँ नै तिनीहरूका सृष्टिकर्ता हुनुहुन्छ र उनीहरूमाथि अत्यन्त कृपालु हुनुहुन्छ। उहाँकै सूक्ष्म कृपाका कारण उहाँले तिनीहरूको कमजोरीका बाबजुद पनि जीवनयापन र हितका लागि आवश्यक सबै साधनहरू उपलब्ध गराउनुभएको छ।


मेरो पालनकर्ता अल्लाह हुनुहुन्छ
मेरो नबी मुहम्मद ﷺ हुनुहुन्छ
पवित्र कुरआन मेरा पालनकर्ताको वाणी हो
इस्लामका आधारभूत स्तम्भहरूबारे जानौँ
ईमानका आधारभूत स्तम्भहरूबारे जानौँ